बेशीसहर । पहिले–पहिले गाउँमा विजुली बल्दा गाउँलेले बाजागाजा बजाएर खुसीयाली मनाउँथे तर अहिले विजुलीकै कारण शोक मनाउनु परेको छ । लमजुङको दूधपोखरी गाउँपालिका–५ मा भएको एउटा घटनाले यसलाई थप पुष्टि गरेको छ । दूधपोखरी गाउँपालिका–५ कि ५२ वर्षीया आशमाया गुरुङको करेन्ट लागेर मृत्यु भएको हो ।
रुखमा झुण्डिएकाे अवस्थामा मृतक महिला
विद्युत् प्राधिकरणको लापर्वाहीका कारण डालेघाँस काट्न रुखमा चढेकी गुरुङको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय खेम गुरुङ र चन्द्र मिश्रले जानकारी दिए । ११ केभीए क्षमताको लाइन विस्तार गर्दा स्थानीयसँग प्राधिकरणले कुनै समन्वय नगरेको र अहिले पनि प्रसारण लाइन क्षेत्रमा पर्ने रुख काट्न बेवास्ता गरेकाले यो घटना भएको गुनासो सहित स्थानीयले मृतकको क्षतिपूर्तिका लागि राष्ट्रिय मानव अधिकार आयोगको गण्डकी प्रदेश कार्यालयमा उजुरी दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको गण्डकी प्रदेश कार्यालमा दिएकाे उजुरी
मृतकको परीपूरणका लागि पनि स्थानीयले प्राधिकरणलाई आग्रह गरेका छन् । मृतक महिलाका श्रीमान् शारीरिक रुपमा असक्त छन् भने १२ वर्षका छोरा र ८ वर्षीया छोरीको विचल्ली भएको छ । यस्तै, प्राधिकरणको लापर्वाहीका कारण दूधपोखरी मात्रै नभई अन्य ठाउँमा पनि विद्युत्का पोलबाट आउने र ज्वालामुखीले डढाएजस्तै वस्तु तथा वनस्पति जलाएका घटनाहरु बढदै गएको स्थानीयले बताएका छन् ।
तस्वीरमा हेरौँ, विद्युत् प्राधिकरणको लापर्वाही