काभ्रेपलान्चोक । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका -१ बाट खानीखोला गाउँपालिका जोड्ने सडक मनमौजी ढंगले निर्माण गरेको भेटिएको छ । प्राविधिक स्टमेट विपरीतको भू-भागबाट सडक निर्माण गरेर बस्ती नै जोखिममा पारिएको छ । राजनीतिक पहुँचको आधारमा प्राविधिक स्टमेट विपरीत एकातिरबाट जानुपर्ने सडकलाई नक्सा नै परिवर्तन गरि अर्कोतिरबाट निर्माण गर्दा तीन घरसहित एक प्राथामिक विद्यालयसमेत उच्च जोखिममा छन् ।

सिमित व्यक्तिको आकांक्षालाई पूरा गर्ने हेतुले सडक निर्माण गरिँदा आफ्नो बस्ती नै जोखिममा परेको स्थानियको गुनासो रहेको छ । केहि स्थानीयलाई प्रभावमा पार्नका लागि कुखुरा भोज समेत गरिएको स्थानीयले बताएका छन् । स्टमेट विपरितको सडक निर्माणमा स्थानिय तहका जनप्रतिनीधि तथा स्थानीय प्रशासनका कर्मचारीको समेत मिलोमतो रहेको स्थानीयले आरोप लगाएका छन् ।

निमार्णाधिन सडकको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले निरीक्षण गरे पनि स्टमेट विपरीत नै सडक निर्माण भएपछि यसमा गाँउपालिकाका अध्यक्षकै मिलेमतोको शंका गरिएको छ । बाग्मती प्रदेश मातहत निर्माण भईरहेको यो सडक खण्डमा अमृता कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

यो सडकका इन्जिनियर दीपेन्द्रकुमार रोहितले आफूले इस्टिमेट विपरीत सडक निर्माण गरिएको र आफूलाई कसैले पनि जानकारी समेत नदिएको बताएका छन् ।