काठमाडौं । यो पल्टको अन्तर्राराष्ट्रिय योग दिवस सन्देश आदानप्रदानमा सिमित भएको छ । कोरोना महामारीका कारण यो पल्ट योग दिवस सन्देश आदानप्रदानमा सिमित भएको हो । सन् २०१५ बाट राष्ट्रसङ्ले अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान गरेको हो । राष्ट्रसंघको आह्वानमा जुन २१ लाई योग दिवसका रूपमा संसारभर मनाउन थालिएको हो ।

व्यक्तिगत शान्ति र स्वास्थ्यबिना विकास र समृद्धि सम्भव नहुने भन्दै दिवस मनाउन थालिएको बताइन्छ । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणमा महत्व दिने योग गुरुले बताएका छन् । चित्त वृत्तिको निरोध नै योग हो भनेर पतञ्जलिले भनेका छन् । योगले चित्त र वृत्तिलाई ठिक बाटोमा डोर्याउने योग गुरुहरु बताउँछन् ।

विश्व योग दिवस अन्तर्राष्ट्रिय योग दिवसका नामले पनि चिनिन्छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो ।

यो पल्ट छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्धको संघर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षाका मुख्य आधारसमेत शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक भएकोमा उनले जोड दिएका छन् । छैटौंँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना दिँदै उनले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वान गरे ।

प्रधानमन्त्रीले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज भएको चर्चा गर्दै मानसिक अन्तरयात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै बढेको बताए । तनाव, द्वेष, इष्र्या र निन्दाका दुष्प्रभावलाई त्याग्दै समाजलाई स्वस्थ, खुसी र सकारात्मक मनोचेतनातिर लैजान योगलाई मानव जीवनको अङ्ग बनाउन आवश्यक रहेको प्रधानमन्त्रीले औंल्याएका छन् ।