काठमाडौं । नेपाली फुटबलको पहिलो पुस्ताका खेलाडी राजबहादुर सिंहको निधन भएको छ । सिंह राष्ट्रिय खेलकूद परिषद् सदस्य सचिव पनि भए । उनी नेपाली फुटबलले पाएका उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।

औपचारिक रूपमा नेपाली राष्ट्रिय टोली सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता आगा खाँ गोल्डकपका उनी सदस्य थिए । त्यो प्रतियोगिता तत्कालीन पूर्वी पाकिस्तान रहेको बंगलादेशको ढाकामा सन् १९६३ मा भएको थियो ।

उनले परिषद्को सातौं सदस्य सचिवका रूपमा २०४८ देखि २०५० सम्म जिम्मेवारी सम्हालेका थिए । घरेलु फुटबलमा भने उनले एनआरटी र विद्याव्यायाम मन्दिरका लागि खेले । उनको शनिबार पशुपति आर्यघाटमा अन्येष्टि गरिएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले बताए ।