काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धिको विपक्षमा उभिदा आफूहरुमाथि अन्याय भएको बताएका छन् । स्थायी कमिटीको बैठकमा शनिबार उपाध्यक्ष गौतमले आफूहरुमाथि अन्याय भएको बताएका हुन् ।

सीमा समस्या र समाधान विषयको छलफलमा उपाध्यक्ष गौतमले त्यसबेला महाकाली सन्धिको विपक्षमा उभिदा पार्टीले कारबाही गरेर आफूहरुमाथि अन्याय गरेको बताए । त्यसबेला गौतम सहित साहना प्रधान, सीपी मैनाली, राधाकृष्ण मैनाली, केशवलाल श्रेष्ठ लगायतलाई पार्टी निर्णयको विपक्षमा उभिएको भन्दै कारबाही गरिएको थियो ।

यो दस्तावेज नसच्याएकाले अब सच्याउनुपर्ने गौतमले बताए । महाकाली नदीको मुहान छुट्याउनुपर्ने भन्ने संघर्ष पार्टीभित्र हुँदै संसदमा पुगेको र पार्टी विभाजन भएको उनले स्मरण गरे । तर, अहिले लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नक्शा जारी गरिएपछि हिजोका दिन आफूहरुमाथि अन्याय भएको पुष्टि भएको गौतमको भनाई छ ।