काठमाडौं । ट्याक्सी चलाउन पाउनुपर्ने माग गर्दै आन्दोलनरत ट्याक्सी व्यवसायीले बुधवार सडकमै खाना पकाएर विरोध गरेका छन् । बुधवार यातायात व्यवस्था विभाग अगाडि विरोध स्वरुप उनीहरुले सकडमा नै खाना पकाएर खाएका हुन् ।

सरकारी निकायले कुनै पहल नगरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ । सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म विभागको अगाडि प्रदर्शन जारी गर्ने उनीहरुले चेतावनी दिएकाछन् ।

लकडाउनका कारण दैनिक गुजारा चलाउन मुस्किल भएको तथा वित्तिय संस्थाको ऋण तथा व्याज तिर्न नसकेको, घर भाडा बुझाउन नसकिएको भन्दै लकडाउन अवधिभरको बैंक तथा वित्तिय संस्थाको ब्याज मिनाहा गर्नुपर्ने, ट्याक्सी चलाउन पाउनुपर्ने उनीहरुको माग छ । रातो प्लेटकाहरुले मोलमोलाई गरेर यात्रु बोकेको तर कोरोना संक्रमणको डर देखाएर सार्वजनिक ट्याक्सी चलाउन नदिएको उनीहरुले आरोप लगाएकाछन् ।

निजी सवारी साधन चल्न दिएको अवस्थामा ट्याक्सीलाई रोक्नु अन्यायपूर्ण भएको उनीहरुको भनाई छ । त्यस्तै सरकारले १० अर्बको राहत वितरण गरेको बताएपनि आफूहरुले केही नपाएको व्यवसायीहरु बताउँछन् ।