काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच बढिरहेको दाबी गरे पनि मुलुमा सञ्चालन भइरहेका मध्ये झण्डै दुई तिहाइ व्यवसायले ऋण सुविधा नपाएको देखिएको छ । केन्द्रीय तथ्यांक विभागको आर्थिक गणनाको भर्खरै प्रकाशित तथ्यांकले देशका करीब ९ लाख व्यवसायमध्ये ५ लाख ८० हजार अर्थात् ६४.४ प्रतिशतले ऋणको सुविधा नपाएको देखाएको हो ।

यसले देशमा व्यवसाय गर्न सहज ऋणको पहुँच नरहेको संकेत गरेको छ । यद्यपि, ति मध्ये कतिपयलाई ऋण सुविधा आवश्यक नपरेको पनि हुनसक्छ । आर्थिक गणनाका अनुसार, ३ लाख २० हजार व्यवसायले मात्र ऋण सुविधाको पहुँच पाएका छन् । कृषिसँग सम्बन्धित व्यवसायमध्ये करीब २८ प्रतिशतले मात्रै ऋण सुविधा पाएका छन् ।

जबकि, थोक र खुद्रा व्यापारका व्यवसायमध्ये ३९ प्रतिशतले ऋणमा पहुँच पाएका छन् । उत्पादनमूलक व्यवसायमध्ये पनि करीब ३९ प्रतिशतले नै ऋण सुविधा पाएको गणनाले देखाएको छ । ऋण सुविधा लिने व्यवसायमध्ये ३५ प्रतिशतले मात्रै बैंकबाट ऋण लिएको देखिएको छ ।

३१.३ प्रतिशत व्यवसायले सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । करीब ८ प्रतिशतले फाइनान्सबाट ७.७ प्रतिशत व्यवसायले लघुवित्तबाट ऋण लिएको आर्थिक गणनाले देखाएको छ । १४ प्रतिशत व्यवसायले व्यक्तिसँग ऋण लिएका छन् ।