काठमाडौं । अध्याँरोबाट उज्यालोतिर लैजान अभिप्रेरित गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै आइतवार गूरुपूर्णिमा मनाइँदैछ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव प्रकट गरेर गुरुपूर्णिमा मनाउने गरिन्छ ।

यही दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती पनि मनाउने गरिन्छ । पौराणिक साहित्यमा व्यास जयन्तीको व्याख्या गरिए जसरी तन्त्र विद्यामा ब्रह्मा, विष्णु, महेश्वरको स्वरूपलाई गुरु मानिएको छ । यस्तै, पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षको एक पल्ट यसै उत्सवमा मात्रै सर्वसाधारणका लागि खुला गरिन्छ ।

सामाजिक दूरी कायम गरेर दक्षिणामूर्तिमा दर्शन गर्न सकिने व्यवस्था गरिएको पशुपतिनाथका कोतवाल पूर्णनारायण जोशीले बताउनु भएको छ । राजगुठी अन्तर्गतका मुलुकका सबै नाथ अखडामा गुरु गोरखनाथको अर्चना गरिन्छ । जुम्लामा छिप्रानाथ योगीको पूजन हुने गर्दछ । यस्तै, आर्यघाटमा रामनाथ अघोरीको प्रतिमाको अर्चना गरिन्छ । यसैदिन पशुपति मन्दिर परिसरमा रहेको कीर्तिमुख भैरवमा पञ्चवली पूजा समेत गर्ने गरिएको छ ।

यसैबीच, तनहुँको व्यास नगरपालिकाले वेदव्यास जयन्तीको अवसर पारेर सार्वजनिक विदा दिएको छ । यसअघि नगरपालिकाले चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले नगरपालिकाभित्र ‘वेदव्यास’ सम्बन्धी पढाइ शुरु गरिसकेको छ ।