काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुरुङबाट पानी काठमाडौं पठाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मेलम्ची खानेपानी आयोजनाको मुहानबाट स्वीच थिचेर पानी सुरुङमा पठाए ।

प्रजिअ ढकालका अनुसार सुरुङको परीक्षणका लागि आज पानी पठाइएको हो । पानी सुरुङको अवस्था ठीक भएमा केही दिनभित्र काठमाडौं पुग्ने ढकालले बताउनु भयो । मेलम्चीबाट काठमाडौँको सुन्दरीजलसम्म करिब २७ किलोमिटरको दूरी छ ।

सरकारले आर्थिक वर्ष २०७७-०७८को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य यो आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ । पहिलो चरणमा १७ करोड लिटर पानी काठमाडौं आउने भनिएको छ । तर, मेलम्चीको पानी वितरण गर्ने भाका पटक-पटक सर्दै आएकाले काठमाडौंबासीको शंका भने निवारण हुनसकेको छैन ।