रसुवा । कोरोनाको विश्वव्यापी संक्रमणका कारण पाँच महिनादेखि प्रभावित भएको नेपाल–चीन व्यापार सुरू भएको छ । चीनबाट अब मालसामान नै नेपाल आउन थालेको हो । यसक्रममा सोमवार चीनबाट चार वटा कन्टेनर रसुवापारि मितेरी पुलसम्म आएका छन् । ती कन्टेनरमा रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पल, विद्युतीय सामग्री र त्यसका पार्टपुर्जाहरू रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तले जानकारी दिए ।

मितेरी पुलमा आएका चार वटा कन्टेनरको सामान अनलोड गरी नेपालतर्फ रसुवा भन्सारको यार्डमा ल्याइसकिएको छ । ती सामग्रीको भन्सार जाँचपासको काम भइरहेको छ । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार चीनबाट सामग्री ल्याउने बन्दोबस्तका लागि टिमुरेमा पन्ध्र चालक र पन्ध्र जना मजदुर राखिएको छ । कोरोना महामारी सुरू भएपछि चीनले नेपालतर्फको निर्यात रोकेको थियो । बीचमा नेपालमा पनि संक्रमण बढेपछि चीनमा कन्टेनर पठाइएको भने छैन ।