काठमाडौं । संघीय समाजवादी पार्टीले सांसद सरिता गिरीले आफुलाई पार्टी सदस्य र सांसदबाट समेत निष्कासन गर्ने निर्णयविरुद्ध कानूनी उपचार खोज्ने प्रतिक्रिया दिएकी छिन्।

सांसद गिरीले भनिन्, ‘मलाई अहिलेसम्म निर्णय के हो भन्ने आधिकारिक जानकारी दिइएको छैन । तर समाचारहरूमा आए अनुसार नै हो भने अदालत जानेछु । पार्टीले अन्याय गर्‍यो, न्याय अदालतबाटै खोज्छु।’

उनले केन्द्रीय समितिले गरेको निर्णय मात्रै वैधानिक हुने भन्दै आफ्ना लागि कानूनी उपचारको बाटो खुल्ला रहेको बताइन् । सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी हुन् । गिरीलाई कारबाही गरिएसँगै उहाँको ठाउँमा ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बनाउने चर्चा चलेको छ । पार्टीको कारबाहीपछि अब गिरीको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उहाँभन्दा मुनि रहनु भएकी लीला सिटौला स्वतः सांसद बन्न पाउने बताइएको छ ।

सरकारले नेपालको नयाँ नक्शा जारी गरेपछि पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गर्दा उनले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।

नेपालको संविधान संशोधनका लागि मतदान हुने दिन ३२ जेठमा उनले बोल्न खोज्दा सभामुखले समय नदिएपछि उनी बैठक छोडेर बाहिरिइन् । सामाजिक सञ्जालमा कतिपयले पार्टी निर्णयको विरोध गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै यो निर्णय खेदजनक भएको भनेकी छिन् ।

उनको फेसबूक स्टाटसमा, ‘संसदमा आफ्नो धारणा स्वतन्त्र र निर्भिक ढंगले राखेकै आधारमा कारबाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता विपरीत छ, पार्टीको निर्णय लोकतान्त्रिक मान्यता विपरीत छ, निर्णय फिर्ता लिन आग्रह गर्दछु’भनिएको छ ।

यसमा प्रतिक्रिया जनाउँदै मानवअधिकारकर्मी कपिल श्रेष्ठले पनि सरिता गिरीविरुद्धको कारवाहीको विरोध गरेका छन् । त्यसरी प्रतिक्रिया जनाउने अन्यले पनि पार्टीले निर्णय फिर्ता लिनुपर्ने बताएका छन्।