काठमाडौं । बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरेको हो ।

वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले ‘भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाएको’ जानकारी दिएको छ । प्राधिकरणले प्रेस नोट नै जारी गरेर पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना रहेको जनाएको छ ।

कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ । शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्नसक्छ ।

खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन भनिएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुवान हुने खतरा औँल्याइएको छ ।