काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन भन्दै दुई अध्यक्षबीच भएको पछिल्लो भेट पनि निष्कर्षविहिन भएको छ । विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बुधवार पनि बालुवाटारमा डेढ घण्टा छलफल भयो ।

कुराकानी लामै भए पनि ठोस उपलब्धी नभएको प्रचण्डका प्रेस सल्लाहकारले जानकारी दिए । सोमबारदेखि दुई अध्यक्ष दैनिक एक्ला एक्लै छलफलमा जुटेका छन् । तर, पनि अझै विवाद समाधानको कुनै उपाय निस्किएको छैन ।

प्रचण्ड र माधव नेपाल पक्षले प्रधानमन्त्री समेत रहेका ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न भनेपछि विवाद उत्कर्षमा पुगेको छ । असार १० गते सुरु भएको स्थायी समिति बैठक रोकिएको छ । विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।