सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा १३ घर बगाएको छ भने १८ जना बेपत्ता भएका छन् । पहिरोमा परेका २ जनाको शव भेटिएको छ । बाह्रबिसे नगरपालिका ५ जम्बुमा एल्मो खोलाको बाढीले ११ घर बगाएको छ ।

भोटेकोशी गाउँपालिकाकै अर्को खोलामा आएको बाढीले बुलकुटे बस्तीका दुई घर बगाएको छ । बाढीले जुरे पहिरोदेखिकै तातोपानीसम्मको सडकखण्ड अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाई भएको स्थानीय प्रशासनले जनाएको छ ।

बिहीवार बिहान हेलिकोप्टरबाट उद्धार गर्न गरिएका प्रयास असफल भए पनि अहिले प्रदेश सरकारले पठाएको हेलिकोप्टर उद्धारमा खटिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी समेत खटिएका छन् ।

यसैबीच बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो ।

घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रजिअ ढकाले जानकारी दिए । उनीहरुलाई थप उपचारका लागि काठमाडौँ पठाउने ब्यवस्था गरिएको उनले बताए । बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ ।