काठमाडौं । नेपाल प्रेस काउन्सिलले अफवाह र भ्रमपूर्ण समाचार दिने अनलाइनलाई सोझै बन्द गर्ने भएको छ। बिहीवार मात्रै काउन्सिलले सूचना विभागमा दर्ता भएको टिभिहिमालयनदैनिक डटकम बन्द गरिदिएको छ ।

काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले, ‘यसअघि हामी दर्ता भएका अनलाइनको हकमा स्पष्टीकरण सोध्ने र अन्य कारबाही गर्ने गर्थ्यौँ। अब त्यसले काम गर्ने देखिएन। बन्द गर्नुको विकल्प रहेन। अफवाह फैलाउने अनलाइनलाई अब ठाडै बन्द गरिन्छ’ भनेका छन् ।

कार्यबहाक अध्यक्ष श्रेष्ठले अनलाइन सञ्चालन निर्देशिका २०७३ का आधारमा टिभिहिमालयनदैनिक डटकम बन्द गरिएको बताए। अश्लील, अपुष्ट र भ्रामक समाचार प्रकाशित गर्ने अनलाइनलाई बन्द गर्ने व्यवस्था भएको उनले बताएका छन् ।

काउन्सिलले बिहीवार ‘मिडियाएनपीओ’ र कुन्तिपुरडटकम पनि बन्द गरेको छ। २४ अनलाइनखबर डटकम, बुद्धन्युज डटकम, डेली नेपाल डटकम, आजभोलि डटकम, कुसेन्युज डटकम पनि बन्द गर्ने तयारीमा रहेको उनले बताए ।

आजभोली डटकमले ओलीले संसद विघटन गर्दै भनेर समाचार छापेको थियो भने कुसेन्युज डटकमले पार्टी फुटाउने तयारीमा ओली, उपाध्यक्षमा नेम्वाङ र महासचिवमा बास्कोटा भनेर समाचार छापेको थियो।