म्याग्दी । अविरल वर्षासँगैको बाढी–पहिरोमा परी म्याग्दीमा १० जनाको मृत्यु भएको छ । ३० जना बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ विममा आठ जना गरी १० जनाको मृत्यु भएको छ । त्यस्तै धवलागिरी–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञान नाथ ढकालले जानकारी दिए । उनका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना पहिरोमा परी बेपत्ता भएका हुन् ।

त्यही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सविन पुन बेपत्ता भएका हुन् । परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीको उद्धार गरिएको छ । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरनजंग कुँवरले बताए । नदीको कटानका कारण बेनी नगरपालिका–९ ,गलेश्वर र रघुगंगा गाउँपालिका–३ का बस्ती उच्च जोखिम रहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

यस्तै, रघुगङ्गा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हँुदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जीप भत्काएर बगाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।