काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित विभिन्न निर्माण कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखेको छ।

कार्यालयले विभिन्न परियोजनाको निर्माणमा पूर्वनिर्धारित सर्त पूरा नगरेका ती कम्पनीहरुलाई कालो सूचीमा राखेको कुरा शुक्रबार एक सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।

परियोजनामा सार्वजनिक खरिद सम्झौता बमोजिम काम नगरेपछि त्यसको जानकारी गराउँदै विभिन्न निकायहरुले कार्यालयलाई पत्र पठाएका थिए। तिनै पत्रका आधारमा कार्यालयको असार २५ गतेको निर्णयले कालोसूचीमा राख्ने निर्णय गरेको हो।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिले निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। कालोसूचीमा राखिएको अवधिभर यी निर्माण कम्पनीहरु कुनै पनि सार्वजनिक खरिद गतिविधिमा भाग लिन पाउने छैनन्।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय कपिलवस्तुको सिफारिसमा पप्पु-वाम्ती जेभी अनामनगर काठमाडौंलाई दुईवटा ठेक्काका लागि एक वर्षलाई कालोसूचीमा राखिएको हो । दुईवटा पुल समयमा निर्माण गरेकाले पप्पु कन्स्ट्रक्सनका सुमित रौनियार र वाम्तीका विश्वास झाको नामै उल्लेख गरेर कालोसूचीमा चढाइएको छ ।

हुलाकी राजमार्ग आयोजनामा १० वटा ठूला पुल जीर्ण छन् । त्यसमा ६ वटा पुल निर्माणको जिम्मा पप्पुले पाएको छ। समयमा र गुणस्तरीय काम नगरेर बदनामी कमाएको पप्पु कन्स्ट्रक्सनसँग आयोजनाले धमाधम ठेक्का तोडिरहेको छ। यसअघि पनि हुलाकी राजमार्ग आयोजनाले नारायणी पुल निर्माण गर्न नसकेको भन्दै पप्पुसँग ठेक्का तोडिसकेको छ। आयोजनाले साझेदार कम्पनीले गरेको काममा छुट दिएर बाँकीको ठेक्का तोड्न लागेको हो।

झापाको बिरिङ र कन्काइ पुल, सिरहा र कमलामा पर्ने कमला पुल, सिरहाको बलान पुल, सर्लाहीके बाँके नदी र वाग्मती पुल, वीरगञ्जको तिलावे पुल, रूपन्देहीको तिनाउ खोला र दानव खोला पुल, कैलालीको कान्द्रा नदी पुल लगायतलाई रोगी पुल घोषणा गरिएको छ। निर्माणको ठेक्का दिइसकेका यी पुल अलपत्र जस्तै छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको सिफारिसमा बिजी कन्स्ट्रक्सन (चाँगुनारायण ८, भक्तपुर) लाई पनि कार्यालयले कम्पनीका प्रमुख व्यक्ति गौतम दुलालको नाम उल्लेख गर्दै एक वर्षका लागि कालोसूचीमा राखेको छ।

त्यस्तै, हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको सिफारिसमा श्रीहरी-सेतीदेवी जेभी (मनहरी–३, मकवानपुर) समेत कालोसूचीमा परेको छ। यसका मुख्य व्यक्ति हरिहर चौलागाई रहेको कार्यालयको सूचनामा उल्लेख छ ।