बेनी । हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा बाढी पहिरोबाट ११ जनाको मृत्यु भएको छ । २२ जना पहिरोमा परी सम्पर्कविहीन भएका छन् । पहिरोका कारण ३५ वटा घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना र रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा एक जना गरी ११ जनाको मृत्यु भएको हो । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा पहिरोका कारणले २१ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । त्यसैगरी मङ्गला गाउँपालिका र मालिका गाउँपालिकाको सीमानामा रहेको दुखु खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । उनका अनुसार धौलागिरी गाउँपालिका मराङमा २० घर, ताकममा पाँच घर, मालिका गाउँपालिका–७ बिममा १० घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरका अनुसार घटनास्थलतर्फ प्रहरी टोली परिचालन भएको भएपनि पूर्ण विवरण भने आइसकेको छैन । त्यस्तै बेनी(जोमसोम सडक खण्डको गलेश्वरस्थित राहुघाट नदिमाथिको बेलीब्रिज राहुघाट नदीको कटानले पूर्णरुपमा क्षतिग्रस्त भएको प्रजिअ ढकालले बताए । ढकालका अनुसार सबै क्षेत्रम सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अहिले पानी पर्न केही कम भए पनि बाढी पहिरो घटिसकेको छैन । बेनी जोमसोम सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । बेनी नगरपालिका–९, गलेश्वरस्थित पुल बगेको छ । त्यस क्षेत्रका २९ घरधुरीका ८५ जनालाई सुरक्षित स्थलमा सारिएको छ । जिल्लाभरबाटै घटनाको विवरण सङ्कलन जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताए ।