काठमाडौं । २७ दिनको अन्तरालमा खाडी र मलेसियाबाट १५१ नेपालीको शव ल्याइएको छ । गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेको नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि ल्याउन थालिएको हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार कोरोना महामारी सुरु भएयता विदेशमा ज्यान गुमाएका ४०६ नेपालीमध्ये १५१ नेपालीको शव चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ । लकडाउन सुरु भएदेखि अहिलेसम्मको अवधिमा खाडी र मलेसियासहित अन्य देशमा १५ महिला र ३९१ पुरुष गरी ४०६ जना नेपालीको विभिन्न कारणले ज्यान गएको थियो ।

अन्तर्राष्ट्रिय उडान बन्द भएर शव ल्याउन नपाएपछि कतिपय मृतकका आफन्तले भने परदेशमै सदगतका लागि अनुमति दिएका छन् । आफन्तको सहमतिमै १४६ जना नेपालीको भने गन्तव्य देशमै सदगत गरिएको बोर्डले जनाएको छ । अब खाडी र मलेसियासहित विभिन्न देशमा १०९ नेपालीको शव बाँकी छन् ।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोकेपछि विशेषगरी धेरै नेपाली कार्यरत खाडीका देश र मलेसियामा नेपालीको शव पनि रोकिएको हो ।