काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ । शुक्रबार बस्न नसकेको बैठक साउन २ गते ११ बजे बस्नेगरी स्थगित भएको हो । बाढी पहिरोको विपदका बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले देशभर भैरहेको बाढी पहिरोको वितण्डाले जनधनको ठूलो क्षति भएको अवस्थामा सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहातमा लाग्न निर्देशन दिँदै बैठक एक सातालाई स्थगित गरिएको बताए । बर्खे विपदले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन भन्दै केही दिनयता दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले गर्दै आएको नियमित भेट समेत टुटाइदिएको छ ।