काठमाडौं । सर्वोच्च अदालतले गएको चैत २४ गतेभन्दा अघि आयातका लागि प्रतिपत्र (एलसी) खोलिसकेको केराउको आयात नरोक्न अन्तरिम आदेश दिएको छ । चैत ११ गतेदेखि कोरोनाको संक्रमणलाई ध्यान दिँदै सरकारले लकडाउन गरेपछि अर्थतन्त्र नाजुक अवस्थामा पुग्ने विश्लेषण गर्दै सरकारले केराउ, सुपारी, मरिच, छोकडा, मदिरा र ५० हजार डलरभन्दा बढीको सवारी साधान आयतामा रोक लगाएको थियो ।

चैत १६ गतेभन्दा अघि कारोबार भइसकेको केराउ ल्याउन मन्त्रिपरिषद्ले रोक नलगाए पनि भन्सार कार्यालयले भने आयात गर्न नदिएपछि कलवार एग्रो इन्डष्ट्रिजका तर्फबाट पवनप्रसाद भण्डारीले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले निर्णय हुनुभन्दा पहिले एलसी खोली सकेको आयातमा रोक नलगाउन आदेश दिएको हो । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णय चैत २४ गतेको राजपत्रमा सूचना प्रकाशित भएको थियो ।

राजपत्रमा सूचना प्रकाशित गर्नु भन्दा पहिले नै एलसी खोली सकेको आयातमा समेत रोक लगाउँदा व्यवसायी मारमा परेको निवेदकको जिकिर छ । सरकारले आकस्मिक रुपमा रोक लगाउँदा भन्सारमा आएर झण्डै १२ कन्टेनर सामान रोकिएको छ ।