काठमाडौं । सरकारले बाढी–पहिरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनाको व्यवस्था मिलाउने भएको छ । बालुवाटारमा शनिवार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले देशका आठ जिल्ला अहिले बाढीपहिरोबाट प्रभावित भएकोले उद्धारदेखि पुर्नस्थापनाका काम गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू तथा सुरक्षा निकायबीचको बैठकले यस्तो निर्णय गरेको छ । बाढी–पहिरोपीडितलाई उद्धार गरी सार्वजनिक भवन, विद्यालयहरूमा राख्न सकिनेबारे छलफल भयो ।

बाढी–पहिरोपीडितलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा सरोकारवालहरुसँग छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार हिजोको बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् । केन्द्रका अनुसार बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता र २६ जना घाइते छन् ।