काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत रुपले दर्ता भएको छ ।

निर्वाचन आयोगले जनता समाजवादीलाई एकीकरणसहित दल दर्ताको चिठ्ठी र प्रमाणपत्र दिएको छ । आयोगले आइतबार जनता समाजवादीलाई दल दर्ता भएको प्रमाणपत्र प्रदान गरेको हो । राजनीतिक दल सम्बन्धी ऐन अनुसार तीन वटा अवस्थामा दल दर्ता हुन्छ ।

ऐनमा, नयाँ पार्टी गठन हुँदा, एकीकरण हुँदा र दल टुक्रिँदा दर्ता हुने प्रावधान छ । जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन् । दुई महिना पहिले समाजवादी र राजपाबीच एकीकरण भएको थियो । जनता समाजवादी पार्टीमा अहिले ३४ जना सांसद छन् ।

योसँगै संघीय संसदमा राष्ट्रिय दलको संख्या घटेको छ । प्रतिनिधि सभाको चुनावबाट पाँच दलले राष्ट्रिय दलको हैसियत प्राप्त गरेका थिए । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि त्यो संख्या ४ भएकोमा अहिले समाजवादी र राजपाको एकीकरणले राष्ट्रिय दलको संख्या ३ मा झरेको छ ।