काठमाडौं । सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा)को नाममा कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता सुजित केसीले दर्ता गरेको अदालतको अवहेलना मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले एन्फाको नाममा कारण देखाउ आदेश जारी गरेको हो । अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता केसीले गएको असार २२ गते सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।

केसीले एन्फासहित अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरण राई गरी तीनलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका हुन् । न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले आदेश जारी हुनु नपर्ने आधार र कारणको लिखित जवाफ १५ दिनभित्र पेश गर्न भनेको छ रौतहटको महिला फुटबल एकेडेमी गैरकानुनी रुपमा निर्माण गरिएको र त्यस मुद्दा विचाराधीन अवस्थामा रहेपनि एन्फा र पदाधिकारीले अदालतको आदेशलाई अवहेलना गरेको भन्दै मुद्दा परेको हो ।