काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को छानबिन समितिले कास्की जिल्ला फुटबल संघमा भएको अनियमितताबारे गरेको छानविन प्रतिवेदन एन्फालाई बुझाएको छ । छानबिन समितिले ११ दिन लगाएर गरेको छानबिन प्रतिवेदन शुक्रबार एन्फालाई बुझाएको हो ।

छानबिन समितिका संयोजक तथा केन्द्रीय उपाध्यक्ष वीरबहादुर खड्काले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रतिवेदन हस्तान्तरण गरे । जिल्ला फुटबल संघमाथि आर्थिक अनियमितताको गम्भीर आरोप लागेपछि एन्फाले केन्द्रीय स्तरको छानबिन समिति गठन गरेको थियो । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पटक–पटक आर्थिक विवाद र ठगीको मुद्दामा मुछिएसंगै जिल्ला फुटबल संघभित्रको अनियमितता बाहिर आएको थियो ।

समितिले ६ वटा प्रतियोगिताका कागजात तथा बिल–भरपाई माग गर्दै अध्ययन गरेको थियो । कास्की एन्फाले २०७५ मा आयोजना गरेको मनकामना कप, जिल्ला लिग, जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता, प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता तथा पुरुष र महिलाको अन्तर विद्यालय फुटबल प्रतियोगिताको कागजात बुझाएको थियो ।