काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिबारे भारतले टिप्पणी गर्न आवश्यक नरहेको प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयले श्रीराम र अयोध्याबारे प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिबारे टिप्पणी गर्न आवश्यक छैन, भनेको हो ।

नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवलाई संचारकर्मीले प्रधानमन्त्री ओलीले राम जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे प्रश्न गरे । जवाफमा श्रीवास्तवले नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेका कारण थप टिप्पणी गर्न आवश्यक छैन भनेका हुन् ।

उनले ‘भारतको विशाल संस्कृतिक विरासतबाट विश्व जानकार छ । र, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेकाले थप टिप्पणी गर्न चाहन्नँ’ भने ।

नेपालको परराष्ट्र मन्त्रालयले आधिकारिक रुपमा विज्ञप्ति नै जारी गरेर यो राजनीतिक विषय नभएको र कसैको भावनामा ठेस लगाउने उद्देश्य नभएको प्रष्टिकरण दिएको थियो ।