काठमाडौं । यातायात व्यवसायीहरु आउने बिहीबारदेखि औपचारिक रुपमै सार्वजनिक सवारीसाधन सञ्चालन गर्न तयार भएका छन् । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता निष्कर्षमा पुगेको हो ।

यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले व्यहोर्नेगरी विभागले सहजीकरण गर्ने सहमति भएको छ । कोरोनाका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्नेगरी मन्त्रालयसमक्ष विभागले सिफारिस गर्ने भएको छ ।

यातायात श्रमिकहरूका लागि कोरोना सुरक्षाका आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ । सञ्चालन हुने सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बरका मात्रै संचालन हुने छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यसअघि मौद्रिक नीतिले धेरै हदसम्म व्यवसायीका माग सम्बोधन गरेको र केही माग विभागले सम्बोधन गर्नका लागि पहल गर्ने सहमति भएको बताए ।