काठमाडौं । सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत दिने भएको छ । मन्त्रिपरिषद बैठकले यसअघि दिइँदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धि प्रावधानमा केही थप गर्दै मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाखबाट बढाएर २ लाख बनाएको हो ।

एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एक जनालाई २ लाख र त्यसपछिलाई प्रति मृतक १ लाख रुपैयाँ मात्रै दिइनेछ । यस्तै, घरबारविहीनका लागि प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न १ लाख तथा प्रकोप पीडितलाई दैनिक गुजारा गर्न ५ जनाको परिवार भए १५ हजार र त्यसभन्दामाथि भए २० हजार रुपैया राहत उपलव्ध गराउने निर्णय भएको हो ।

३ वर्षअघि जारी गरिएको प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७४ अनुसार मनसुनी विपद्मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ राहत, अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार र विस्थापितलाई दैनिक गुजारा चलाउन तत्काल १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था छ ।