काठमाडौ । श्रीमतीको हत्यामा दोषी ठहर सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइराला कारागार मुक्त भएका छन् । उनी बिहीवार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना मात्र कायम गरेपछि कोइराला त्यो अवधिको सजाय भुक्तान गरी छुटेका हुन् । श्रीमतीको हत्यापछि गाडीमा राखेर मकवानपुर लगि जलाएको अभियोगमा अदालतले उनलाई दोषी करार गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले कोइरालाको सर्वस्वसहित जन्मकैद सजाय घटाएको हो। २०६८ साल माघमा उनले श्रीमती गीताको हत्या गरेका थिए।

काठमाडौँ जिल्ला अदालतले २०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । त्यो फैसला तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ मा सदर गरेको थियो । प्रधानन्यायाधीशसहितको इजलासले जिल्ला र पुनरावेदन अदालत गरेको जन्मकैदको फैसला असार १५ गते घटाएर ८ बर्ष ६ महिनामा झारेकी थियो ।

यस्तै, उनी छुट्दा रमाइलो किस्सा भएको छ । कोइरालालाई लिन एक महिला पुगेकी थिइन्। डिल्लीबजार कारागारले दिएको जानकारी अनुसार तारा रेग्मी नामकी महिलाले कोइरालालाई बुझेकी हुन् । कारागारबाट छुट्न कसैले बुझ्नु पर्दछ । रेग्मीले आफु कोइरालाको श्रीमती भएको उल्लेख गरेकी छन् ।