काठमाडौं । केही नेताको चरित्रहत्या गरेको, कोठे रिपोर्टिङ्गको आधारमा माथिल्ला नेताको चाप्लुसी गरेको, पार्टी संगठन ध्वस्त पारेको र भद्दा जीवनशैली अपनाएको आरोपमा विप्लव नेकपाको ललितपुर विशेष जिल्ला समितिले ललितपुर जिल्ला इञ्चार्ज विश्वास (आशिक) र सेक्रेटरी दिल (रामबहादुर)लाई कारबाही गरेको छ ।

विशेष जिल्ला समितिको बिस्तारित बैठकले जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई कारबाही गरेपछि विप्लवभित्रको विवाद थप गाँजिएको छ । समितिका अनुसार जिल्ला इञ्चार्ज र सेक्रेटरीले केही समयदेखि तानाशाह प्रवृत्ति देखाउँदै आफ्नविरुद्ध बोल्नेलाई कारबाहीको प्रक्रिया थालेपछि उल्टै उनीहरू कारबाहीको भागीदार बनेका हुन् । यसअघि जिल्ला समितिको ब्लक नं. १ र ४ का इञ्चार्जहरू जमिन र जीवनमाथि इञ्चार्ज र सेक्रेटरीको एक्लौटी निर्णयले कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।

ललितपुर विशेष जिल्ला समितिको बैठकले जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई पाँचवटा गम्भीर आरोप लगाएको छ । उनीहरूमाथि पार्टी केन्द्रको भावना र मर्म विपरित मनोमानी ढंगले पार्टी समिति सञ्चालन गरेको, आवश्यक छलफल र अनुसन्धान नगरी तानाशाही तवरले जिम्मेवार जिल्ला नेताहरूलाई कारबाहीको बहानामा चरित्र हत्या गरेको र संकलित आर्थिक सहयोग तथा चन्दाको आय व्यय विवरण जिल्ला समितिको बैठकमा पेश गर्न नसकेको आरोप छ ।

यस्तै, काल्पनिक र उत्तेजनात्मक सूचनाहरू माथिल्लो कमिटीलाई दिएको, सर्वसाधारणलाई निगरानीको नाममा अनावश्यक रूपले धम्क्याउने र यातना दिने तथा जिल्ला समितिको बैठकमा एक्लौटी निर्णय गरी अनावश्यक विवाद सिर्जना गरेको आरोप पनि इञ्चार्ज विश्वास र सेक्रेटरी दिलमाथि लागेको छ ।