काठमाडौं । सर्वोच्च अदालतले न्याय सम्पादनका क्रममा हुनसक्ने त्रुटि अदालत स्वयंले सच्याउने बताएको छ । जन्मकैदको सजाय पाएका रञ्जन कोइरालाको सजाय घटाउने र सडकमा पैदल यात्रुलाई ठक्कर दिएर मान्छे मारेको घटनाका अभियुक्तलाई धरौटीमा छाड्ने आदेशपछि न्यायालयको गरिमाको विषयलाई सर्वत्र चिन्ता भएको थियो ।

१५ असारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको सजाय जन्मकैदबाट ८ वर्ष ६ महीनामा घटाउने फैसला गरेको थियो । त्यस्तै ३१ असारमा न्यायाधीश सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले बुढानीलकण्ठमा पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको घटनाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।

फैसलालाई लिएर पछिल्लो साताभर नै सर्वोच्च अदालतको सार्वजनिक आलोचना भएको थियो । विज्ञप्ति निकालेर सर्वोच्च अदालतले ‘न्याय सम्पादनको क्रममा हुनसक्ने त्रुटि सच्चाउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरूप अदालतबाटै हुने’ भनेको छ । अदालतमा विचाराधीन रहेका मुद्दाबारे समाचार प्रवाह वा टीकाटिप्पणी नगर्न समेत सर्वोच्च अदालतले आग्रह गरेको छ ।