काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एकदिवसीय श्रृंखलाको तिथि प्रस्ताव गरेको छ । यो श्रृंखला २० सेप्टेम्बर अर्थात् असोज ४ बाट गर्ने प्रस्ताव गरिएको हो । आईसीसीको प्रस्तावमा नेपाल क्रिकेट संघ (क्यान)ले सकारात्मक जवाफ पठाएको छ ।

तर, अनिवार्य क्वारेन्टाइनको व्यवस्था र अन्तर्राष्ट्रिय उडान ढिला गरी खुल्ने भएका कारण आईसीसीले प्रस्ताव गरेकै मितिमा प्रतियोगिता हुनसक्ने सम्भावना कम रहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

नेपालले आउने १ भदौबाट मात्र अन्तर्राष्ट्रिय उडान खुलाउँदैछ । त्यस्तै सामूहिक खेलका लागि प्रशिक्षण पनि १ भदौबाट मात्र शुरू हुनेछ । सरकारले समयमै तयारीको अनुमति दिए नेपालले प्रस्तावित मितिमा भाग लिनसक्ने क्यानले जनाएको छ ।

क्यान अध्यक्ष चन्दले आईसीसीले नामिबिया भ्रमण प्रस्ताव गरेको २० सेप्टेम्बरलाई नै आधार मानेर तयारी शुरू गर्ने बताएका छन् । क्यानले करीब एक महीनाअघि नै बन्द शिविरका लागि राष्ट्रिय खेलकुद परिषदसँग अनुमति मागे पनि जवाफ पाएको छैन ।

यस्तै, अहिलेसम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्त हुन सकेको छैन । अर्को प्रशिक्षक नियुक्त नभएसम्म जगत टमटाले नै राष्ट्रिय क्रिकेट टोली हेर्ने भनिएको छ । १ भदौमा नै बन्द शिविर शुरू भए त्यसअघि नै नयाँ प्रशिक्षक नियुक्तिको सम्भावना कम छ। नयाँ प्रशिक्षक नियुक्तिका लागि आईसीसीसँग अनुमति मागे पनि स्वीकृति आइनसकेको क्यान अध्यक्ष चन्दले बताए।