काठमाडौं । पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापा पुत्र सुनिलबहादुर थापा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केही केन्द्रीय सदस्यहरु कांग्रेस प्रवेश गरेका हुन् ।

थापासहित २१ जनालाई सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले पार्टीमा स्वागत गरे । पार्टी प्रवेशका क्रममा थापालाई देउवाले पार्टी सदस्यता कार्य प्रदान गरे । राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्रको मागलाई उठाएर अगाडि बढ्ने राजनीतिक योजना अगाडि सारेकोमा थापाले विगतदेखि नै असहमति राख्दै आएका थिए । पार्टी प्रवेश गराउदै कांग्रेस सभापति देउवाले लोकतान्त्रिक शक्ति एकजुट भएर लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने धारणा राखे ।

पार्टी प्रवेशपछि थापाले अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको बताए । नेपालको लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन आफु कांग्रेसमा प्रवेश गरेको उनले बताए । पिता सूर्यबहादुर २०१० सालमा नेपाली कांग्रेस धनकुटाको कोषाध्यक्ष रहेको स्मरण गर्दै थापाले कांग्रेसले लिएको प्रजातान्त्रिक प्रणालीलाई साथ दिन आफू कांग्रेस प्रवेश गरेको सुनाए ।