एजेन्सी । हङ्कङले चीनको नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरेसँगै न्युजिल्याण्डले हङ्कङसँगको प्रत्यर्पण सन्धिलाई स्थगित गरेको छ । विश्वका विभिन्न राष्ट्रले व्यापकरुपमा आलोचना गरेको चीनको नयाँ सुरक्षा कानुन हङ्कङको सहमतिमा लागु गरेपछि विभिन्न देशसँग हङ्कङको सम्बन्ध चिसिएको आंकलन गरिएको छ ।

यसै क्रममा मंगलवार मात्रै न्युजील्याण्डले पनि हङ्कङसँगको प्रत्यर्पण सन्धिलाई स्थगित गर्ने निर्णय गरेको छ । कुनै पनि कामले चीन र हङ्कङको यात्रामा जाने आफ्ना न्युजिल्याण्डका नागरिकलाई नयाँ कानूनद्घारा हुने जोखिमबारे सचेत गराउने न्युजिल्याण्डको भनाईप्रति भने चीनले आपत्ति जनाएको छ ।

न्युजिल्याण्डमा रहेको चीनको दूतावासले उक्त भनाइलाई चीनको आन्तरिक मामिलामा न्युजिल्याण्डले हस्तक्षेप गरेकोमा कडा आपत्ति जनाएको हो । हङ्कङले पनि न्युजिल्याण्ड सरकारको सो निर्णयले अन्र्तराष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रण गर्ने आधारभूत मान्यताहरुको ठाडो उल्लंघन गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरेको छ । केही दिन अघिमात्रै क्यानडा, अष्ट्रेलिया र बेलायतले हङ्कङसँगको प्रत्यर्पण सन्धिलाई स्थगित गरिसकेका छन् ।