काठमाडौं । निर्मला पन्तको बलात्कार मुद्दामा हदम्याद सकिएको छ । बलात्कार मुद्दाको हदम्याद सकिएसँगै यसमा अभियोजन नै नहुने चिन्ता बढेको छ । बलात्कारपछि हत्या गरिएकी निर्मलाको मुद्दामा बलात्कारको कसुरबारे अभियोजन हुने सम्भावना कम देखिएको हो ।

१० साउन २०७५ मा घटना भएको समयमा प्रचलित कानून मुलुकी ऐनमा बलात्कारका घटनामा मुद्दा चलाउने हदम्याद ६ महिना मात्र थियो । घटनाको दुई वर्ष वितिसकेकाले बलात्कार मुद्दामा अभियोजन गर्नका लागि हदम्याद नै बाधक देखिने भएको हो ।

पूरै देश स्तब्ध बनेको यो घटनामा बलात्कारको हदम्याद गुज्रिएपछि अब हत्यामा मात्रै मुद्दा चल्ने छ । जबकि यो घटना नै बलात्कारको अपराधको रुपमा चित्रित भएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा भएको यो घटनाप्रतिको आम चासो नै बलात्कारको अपराध गर्ने व्यक्ति कहिले पत्ता लाग्ला र कति वर्ष जेल सजाय होला भन्ने छ ।

तर, यो घटनामा जबरजस्ती करणीको कसूरमा अदालतमा मुद्दा दर्ता गर्ने ६ महिने हदम्याद कटिसकेका कारण हत्या मुद्दामा मात्रै अभियोजन हुने सम्भावना रहेको कानूनविद्हरूले बताएका छन् ।

घटना भएको तीन सातापछि, १ भदौ २०७५ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा भने बलात्कार मुद्दाको हदम्याद बढाएर एक वर्ष पुर्‍याइएको छ। यद्यपि, अपराध हुँदा प्रचलनमा रहेको कानून नै आकर्षित हुने भएकाले यो घटनामा पनि मुलुकी ऐनअनुसार नै कानूनी प्रक्रिया अगाडि बढ्छ ।

मुलुकी ऐन (बाह्रौं संशोधन)मा १० देखि १४ वर्षसम्म उमेरकी बालिकामाथि जबरजस्ती करणी गरेमा ८ देखि १२ वर्षसम्म कैद हुने व्यवस्था छ।सामुहिक बलात्कार भएमा थप पाँच वर्ष कैद हुन्छ।