काठमाडौं । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित आठै जना प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत कञ्चनपुरले बिहीवार उनीहरुलाई सफाइ दिएको हो ।

२०७५ साउन १० गते घरबाट हराएकी १३ वर्षीया निर्मला पन्त ११ गते बिहान नजिकैको उखुबारीमा अवस्थामा मृत अवस्थामा भेटिएकी थिइन् । त्यसको केही समयपछि निर्मलाकै आमा दुर्गादेवी पन्तले तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदविरुद्ध प्रमाण नष्ट गरेको भन्दै उजुरी हालेकी थिइन् ।

त्यही मुद्दामा उनीहरु सबैले सफाइ पाएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिए । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ‘प्रहरीले प्रमाण नष्ट नगरेको र दिलिपसिंह बिष्टलाई हिरासतमा शारीरिक तथा मानसिक यातना नदिएको’ जिल्ला अदालतको फैसलामा भनिएको छ ।

श्रेष्तेदार यदुराज शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासको फैसलाको टिपोट सुनाउँदै दिलिपसिंह विष्टलाई स्वास्थ्य परीक्षणपछि मात्रै प्रहरीले हिरासतमा लिएको, अदालत र सरकारी वकिलको कार्यालयमा पटक–पटक बयान लिँदासमेत आफूलाई यातना दिएको नभनेको, हाजिरी जमानीमा छाड्दा स्वास्थ्य परीक्षण गराइएको पाइएको ठहर गरेको बताए । यस्तै, निर्मला हत्याको मुद्दामा सफाइ पाएका डीएसपी अंगुर जीसीले ‘नेतृत्वमा गलत व्यक्ति हुँदा आफुहरुले दुःख पाएको प्रतिक्रिया दिएका छन् ।