काठमाडौं । इनफ इज इनफ अभियानले उठाएका मागमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ । शनिवार बसन्तपुरमा अनशनरत इनफ इज इनफका इशान अधिकारी लगायतलाई भेटेर कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तुरून्त माग पूरा गर्नुपर्ने बताए ।

बर्तमान सरकारले अभियानको जायज मागलाई पुरा गर्नुपर्ने र अनसन तोडाउनुपर्ने उनले बताए । कोरोनाबाट कोही पनि व्यक्ति मर्न नहुने भन्दै अभियानप्रति समर्थन रहेको उनको भनाई छ ।

त्यस्तै कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले इनफ इज इनफले उठाएका माग तत्काल पूरा गर्नुपर्ने धारणा राखे । इनफ इज इनफले पीसीआर परीक्षणको दायरा वृद्धिलगायतका माग राखेर अभियान जारी राखेको छ । यसअघि सरकारले आफुहरुसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै इनफ इज इनफ अभियाले पुन अनसन सुरु गरेको हो ।