काठमाडौं । उच्च अदालत पाटनले उपभोक्ता हितका पक्षमा फैसला गर्दै नेपाल टेलिकमले एक जना पोष्टपेड ग्राहकलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । रिचार्ज गरेपछि पनि मोबाइलको ‘वान वे बार’ नहटाएपछि आफूलाई मानसिक र आर्थिक क्षति पुगेको भन्दै एक जना ग्राहकले दायर गरेको मुद्दामा उच्च अदालतले टेलिकमले क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको हो ।

भक्तपुर–२ दोगन टोलका राजकुमार सुवालले ३० भदौ २०७५ को साँझ मोबाइलमा पैसा सकिएको भन्दै एकतर्फी फोन सेवा बन्द भएको सूचना पाएमन थिए । टेलिकमले आफ्नो नम्बरमा म्यासेज पठाएर साँझ ६ः५८ मा त्यस्तो जानकारी गराए लगत्तै उनले ५०० का दुई वटा कार्ड किनेर रिचार्ज गरेका थिए ।

रिचार्ज भएको जानकारी आएको करीब १४ घण्टासम्म पनि आफ्नो मोबाइलबाट फोन गर्न नमिलेका कारण आफूलाई मानसिक र आर्थिक क्षति भएको दाबी गर्दै नेपाल टेलिकमले त्यसको पूर्ति गरिदिनुपर्ने माग सहित उनले काठमाडौं जिल्ला अदालतमा मुद्दा हाले ।

मोबाइलबाट फोन गर्न नमिलेका कारण आफूले पूर्व निर्धारित व्यावसायिक कार्यक्रम स्थगित गर्नुपरेको भन्दै त्यसबापत २५ हजार क्षतिपूर्ति पाउनुपर्ने दाबी गरे । तर, अब टेलिकमले १५ हजार क्षतिपूर्ति तिर्नु पर्ने भएको छ ।