काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण तत्काल नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भदौ १ गतेदेखि प्रशिक्षण थाल्ने र २२ देखि २४ खेलाडी प्रशिक्षणमा बोलाउने तयारी गरेको थियो । प्रशिक्षणकै लागि त्रिवि क्रिकेट मैदान परिसरमै क्वारेन्टाइन, खाना र बस्ने व्यवस्था गर्ने भनिएको थियो ।

खेलाडी र त्रिवि क्रिकेट मैदानका सबै कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने बताइएपनि अन्तिममा नगर्ने भनिएको हो । पीसीआर परीक्षण क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले गर्ने जनाएको थियो । बिहीबार क्यानले आगामी दुई महिनासम्म प्रशिक्षण गर्न नसकिने जनाएको छ ।

केहि समयअघि क्यानले ६ महिनादेखि खेलाडी प्रशिक्षण बाहिर हुँदा लयमा ल्याउनका लागि बन्द प्रशिक्षण थाल्ने जनाएको थियो । राष्ट्रिय टोलीले अन्तिम पटक पछिल्लो समय फागुनमा थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगिता खेलेको थियो । सेप्टेम्बरमा नामिबियामा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक श्रृंखला खेल्ने चर्चा चलेपनि क्यानले औपचारिक पुष्टि गरेको थिएन । क्यानले दुई महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल नभएमा घरेलु क्रिकेटमा जोड दिने बताएको छ ।