काठमाडौं । नेपालमा सुनको मूल्य अचाक्ली बढेको छ । सुनको भाउ बिहीवार प्रतितोला एक लाख दुई हजार ५०० रुपियाँ पुग्यो । बुधवार एकै दिन तोलामा १६ सय रुपियाँले बढेको सुनको भाउ बिहीवार एक हजार १०० रूपैयाँले महंगियो ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा भने अनपेक्षित रुपमा बढेको छ । यसमा सरकारी करको पनि दबाब छ । बुधवार प्रतितोला एक लाख एक हजार ४०० मा कारोबार भएको नम्बरी सुन बिहीवार बजार खुल्नेबित्तिकै एक लाख दुई हजार ५०० रुपियाँ कायम भयो । तेजाबी सुनको मूल्य भने तोलाको एक लाख दुई हजार २०० मा रोकियो ।

यस्तै, चाँदीकाे मूल्य  बुधवारको तुलनामा ५० रुपियाँले बढ्यो । बिहीवार चाँदी तोलामा एक हजार ३४५ रुपियाँमा कारोबार भयो । पछिल्लो समय सुन चाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ ।