काठमाडौं । कोरोनाको संक्रमण बढेपछि पछिल्लो एक साता भेटघाट समेत बन्द भएको नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच छलफल भएको छ । बालुवाटारमा तीन घण्टा बढि भएको छलफल आन्तरिक विवाद समाधान उन्मुख देखिएको बताइएको छ ।

दुई अध्यक्षबीचको छलफल विवादको समाधान उन्मुख भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । पार्टीको नीति र विधि विपरित सरकार चलेको, एकलौटी गरेको, देश र जनताको पक्षमा सरकारले काम गर्न नसकेको लगायतका आरोप लगायउदै प्रधानमन्त्री केपी ओली खेमा बाहेकका नेताहरुले ओलीको राजिनामा माग गरेका थिए ।

बरु पार्टी फुटाउने तर दुवै पदबाट राजिनामा नदिने अडान ओलीले लिएपछि अध्यक्ष प्रचण्ड माधवकुमार नेपाल पक्ष ललिचो बनेको बुझिएको छ । सहमतिका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएमा त्यसमाथि छलफल गरेर सर्वसम्म ढंगले अहिले उठेका सवालहरुलाई सम्बोधन गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गर्न सकिने ठाँउमा प्रचण्ड नेपाल पक्ष पुगेको छ ।