काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले पहिलो पटक काठमाडौं उपत्यका बाहिर अर्थात् प्रदेशमा डेटा सेन्टर विस्तार गरेको छ । कम्पनीले प्रदेश १ को अस्थायी राजधानी रहेको विराटनगरको महेन्द्रचोकमा डेटा सेन्टर सञ्चालनमा ल्याएर सेवालाई थप विस्तार गरेको हो ।

काठमाडौं उपत्यकामा रहेर विभिन्न सेवा दिइरहेको क्लासिक टेक यो कदमसँगै देशभर सेवा विस्तारको अभियानमा अघि बढेको छ । यसरी डेटा सेन्टर उपत्यका बाहिर विस्तार गरिएको यो पहिलो पटक भएको कम्पनीले जनाएको छ । विराटनगरमा स्थापना गरिएको डेटा सेन्टरमार्फत पूर्वी नेपालमा रहेका इन्टरनेट प्रयोगकर्ता लाभान्वित हुनेछन् । सञ्चालनमा आएको डेटा सेन्टरमा फेसबुक, यूट्युव, गूगल, इन्स्टाग्राम, ह्वाट्सएप, नेटफ्लिक्स र अकामाईको क्यास सर्भर राखिएको छ ।

यो डेटा सेन्टरमार्फत् इन्टरनेट सेवा प्रदान गर्न एक सय जीबीपीए प्रतिसेकेण्डको व्याकबोन नेटवर्क जडान गरिएको छ । कम्पनीले अहिले बिराटनगर, विरगञ्ज र भैरहवा नाकाबाट इन्टरनेटका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याइरहेको छ ।

बिराटनगरमा राखिएको डेटा सेन्टरमार्फत् प्रयोगकर्तालाई लोकल ट्राफिक प्रदान गरिने कम्पनीले जनाएको छ । ग्राहकको मागअनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने नेटवर्क विस्तार गर्न नजिकै रहेको डेटा सेन्टरमा ‘पेयरिङ’ गरिएको छ ।

जसले इन्टरनेट सस्तो, गुणस्तरीय र उच्च गतिको हुने कम्पनीको दाबी छ । त्यो डेटा सेन्टरको मर्मत र निगरानीका लागि अनुभवी नेटवर्क तथा स्टिम इन्जिनियर चौविसै घण्टा खटिएका छन् । साथै, विद्युतको नियमित आपूर्तिका लागि ब्याकअप सिस्टमसमेत राखिएको छ । अबको चरणमा बुटवलले सेवा पाउने छ । बुटवलमा डेटा सेन्टर स्थापना गर्ने गरी आवश्यक तयारी भइरहेको छ । मुलुकको संघीय संरचनालाई दृष्टिगत गर्दै क्लासिक त्यही अनुसारको योजनाका साथ अघि बढेको छ ।

इन्टरनेट प्रयोगकर्तालाई सहज र उच्च गतिको इन्टरनेट उपलब्ध गराउन क्लासिक टेक डेटा सेन्टर विस्तारमा योजनावद्ध रुपमा अघि बढेको छ ।