काठमाडौं । अहिले संचालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटाको नाफा खुम्चिएको छ । सेञ्चुरी कमर्सियल बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक र एनआइसी एशिया बैंकले मात्रै नाफा बढाएका छन् ।

कोरोना महामारीले निम्त्याएको लकडाउनपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित हुँदा आर्थिक वर्ष २०७६–०७७ मा अधिकांश वाणिज्य बैंकको नाफा खुम्चिएको हो । बैंकहरूले प्रकाशित गरेको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरूको नाफा घटेको देखिएको छ ।

जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर पर्ने देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६–०७७ को चौथो त्रैमासिक अर्थात् असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरूको खुद नाफा घटेको छ ।

आर्थिक वर्षको अन्तिम चौमासिकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पूर्ण रुपमा बन्द रहेको थियो । त्यसले गर्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आउँदा समग्रमा बैंकहरूको नाफा घटेको देखिन्छ ।