काठमाडौं । भाद्र कृष्ण औँसी अर्थात कुशे औँसी । वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाएका छन् ।

शास्त्रोक्त विधिअनुसार व्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यो दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ ।

सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता व्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ ।

हेमाद्रिमा उद्धृत हारीतको वचनमा कुशे औंशीमा कुश उखेल्न पर्ने कुरा बताउँदै भनिएको छ । भाद्रकृष्ण आमावास्या अर्थात कुशे औँशीका दिन कुशसञ्चय गर्नुपर्दछ । कुशे औँसीमा सञ्चय गरिएको अयातयात (ताजा) कुशलाई बारम्बार शुभ कार्यमा प्रयोग गर्न सकिन्छ ।

मदनरत्नमा मरीचि भन्दछन्–भाद्रपदको आमावास्यामा कुशच्छेदन गर्नुपर्दछ र जुनशुकै शुभकार्यमा प्रयोग गर्न सकिनेछ । एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण विकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो ।

यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारीक जीवनशैली प्रस्तुत गरेको छ । दाहिने हातको औँलामा कुशलाई औँठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विस्वास र विज्ञानतः प्रमाणित सिद्धान्तहरुले स्पष्ट पार्छन् ।