एजेन्सी । एउटा चिरपरिचित चिनियाँ व्यावसायिक घरानाले कोरोनाको खोपको मूल्य तोकेको छ । सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर यसको मूल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) तोकेको छ। खोप निर्माण गर्न चीन दृढ देखिन्छ।

यो महिनाको सुरुतिर चिरपरिचित चिनियाँ व्यावसायिक घराना प्रमुखले आफ्ना कर्मचारीलाई कोरोनाको खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए।

स्वास्थ्यसेवामा पनि लगानी भएको उक्त घरानाका प्रमुखले यसलाई आर्थिक सुधारको अवसरका रूपमा हेरेको बताउँदै आफ्नो कम्पनीको व्यापार धेरै हुनसक्ने अपेक्षा व्यक्त गरेका थिए।

त्यसको केही सातापछि चिनियाँ सरकारले खोपमा भइरहेको प्रगतिबारे जानकारी दियो। कोरोनाभाइरस महामारी चीनमा सुरु भएर विश्वभरि फैलिएको हो। अहिले चीनले आफ्नो सबै शक्ति लगाएर कोरोनाभाइरसविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रतिस्पर्धा जित्ने प्रयासमा छ।

विकासको क्रममा रहेको एउटा खोपको तस्बिर गत साता सरकारी सञ्चारमाध्यममा छापियो। तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेकी छन्।

विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छमध्ये आधा खोप चिनियाँ हुन्। विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो।

तर रमाइलो के छ भने चीन आफ्नै देशमा आवश्यकताअनुसार खोप परीक्षण गर्ने अवस्थामा छैन किनभने कोरोनाभाइरसलाई त्यहाँ सफलतापूर्वक नियन्त्रण गरिएको छ।

‘सबै खोप निर्माताहरू हजारौँ व्यक्तिमाथि गरिने तेस्रो चरणको परीक्षणका लागि कोरोनाभाइरस सङ्क्रमण उच्च भएका स्थान खोजिरहेका छन्’, हङ्‍कङ यूनिभर्सिटी पब्लिक स्कूल अफ हेल्थका प्राध्यापक बेन काउलिङले बताए।

उनी चिनियाँसहित अहिले विकास भइरहेका खोपप्रति सकारात्मक छन्। मलाई लाग्छ अहिले तेस्रो चरणमा परीक्षण भइरहेका खोपहरू प्रभावकारी हुने धेरै राम्रो सम्भावना छ।