काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरु भएको छ । सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । पशुपति, काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धाका साथ श्राद्धका लागि पुग्ने गर्दछन् । तर, यो पल्ट भने कोरोना महामारीका कारण घर–घरमा गएर श्राद्ध गर्न रोक लगाइएको छ भने सामाजिक दूरी कायम गरेर मात्र धार्मिक विधि पूरा गर्न आह्वान गरिएको छ । यो समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता समेत रहेको छ ।

पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वासका आधारमा श्राद्ध गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रहृमकपाल तीर्थमा गरिने ब्रहृमकपाली श्राद्ध जस्ता श्राद्धहरु प्रचलित रहेको छ ।