काठमाडौं । कोरोना महामारी शुरू भएपछि कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य स‌ंस्थामा पूर्वाधार विकास गरिएको छ। यो अवधिमा ४५ वटा आईसीयू र २० वटा भेन्टिलेटर थप गरिएको छ।

कोरोना महामारी शुरू हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आईसीयू) १७ शय्या र भेन्टिलेटर ६ वटा मात्रै थिए। प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आईसीयू र भेन्टिलेटर सेवा थिएन।

अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरूमा गरी ६२ शय्या आईसीयू र २६ वटा भेन्टिलेटर थपिएको छ।

सुर्खेतको कालागाउँस्थित् प्रदेश अस्पतालमा हाल २० शय्या आईसीयू र सात वटा भेन्टिलेटर जडान गरिएको छ। योसँगै अस्पतालमा आईसीयूको सङ्ख्या २५ र भेन्टिलेटरको सङ्ख्या १० पुर्‍याइएको छ। सङ्घअन्तर्गत सञ्चालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रदेश सरकारको सहयोगमा पूर्वाधार थप गरिएको छ। यसअघि आईसीयू तीन शय्या र भेन्टिलेटर पाँच रहेकामा कोरोना महामारी बढेसँगै त्यहाँ आईसीयू शय्या १० र भेन्टिलेटर ६ पुर्‍याइएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना महामारीअघि जुम्ला र सुर्खेतबाहेक कर्णालीका अन्य जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा थिएन। सामान्य बिरामीलाई समेत सुर्खेत पठाउनुपर्ने बाध्यता थियो। हाल डोल्पाबाहेक सबै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर जडान गरिएको छ। डोल्पामा पनि छिटै जडान गर्ने प्रदेश सरकारको तयारी छ।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले कोरोना महामारीकै अवधिमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी ३०० शय्याको पूर्वाधार विकास गरिएको जनाएको छ। त्यस्तै, हरेक जिल्ला अस्पताललाई कम्तीमा ५० शय्याको लागि भौतिक व्यवस्था हुने गरी स्रोत साधनको व्यवस्थापन गरिएको छ।