काठमाडौं । कोरोनाले क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चारदेखि पाँच वर्ष लाग्ने भन्दै सरोकारवालाले चिन्ता गरेका छन् । कोरोना संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने उनीहरूको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको सेजन अर्थ नीति बहस अन्तर्गत पर्यटनको सम्भावना विषयक भिडिओ कन्फ्रेन्समा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् ।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्र लगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए । कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको श्रेष्ठको भनाइ छ । उनका अनुसार डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्ने हुन्छ । तर, निरन्तरता दिन पनि अनिश्चितताका कारण समस्या छ ।

पर्यटन व्यवसायी तथा पर्यटन वर्ष २०११ का राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेको बताएका छन् । शाक्यका अनुसार पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी क्षेत्र दुबैबीच समन्वयको आवश्यकता पर्छ । यसका लागि पर्यटक भित्र्याउन विमानस्थलको सम्पूर्ण व्यवस्थापन गर्न निजी क्षेत्र तयार रहेको शाक्यले बताए ।