काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्ने इम्जा तालको पानीको सतह घटाउन २०७३ सालमा लगिएका मेशिनरी औजार अझै हटेका छैनन् । यी मेशिनरी हटाउन युनेस्कोले पटक–पटक चासो राख्दै आए पनि फिर्ता ल्याउन अहिलेसम्म पहल भएको छैन ।

विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्ने इम्जा तालमा पानीको सतह बढेपछि सन् २००८ देखि ताल फुट्ने जोखिम पहिचान गरिएको थियो । पानीको सतह घटाउने निकासको संरचना बनाउन सरकारले ४ फागुन २०७२ मा नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको थियो ।

त्यसका लागि २०७३ सालमा एक्जाभेटर, जेनेरेटर लगायत उपकरण हेलिकप्टर मार्फत ताल क्षेत्रमा लगिएको हो । करीब चार महीना लगाएर तालमा ३.४ मिटर पानीको सतह घटाई जोखिम न्यूनीकरण हुने गरी निकासको व्यवस्था गरिएको थियो । जसमा ३२ करोड खर्च भएको छ ।

तर, त्यहाँ लगिएका मेशिनरी उपकरण चार वर्षदेखि सम्पदा क्षेत्रमै छाडिएका छन् । इम्जा ताल रहेको निकुञ्ज क्षेत्र विश्व सम्पदा सूचीमा रहेका कारण ती सामग्री त्यहाँबाट हटाउन संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले पटक–पटक चासो राख्दै आएको छ । तर, काम सकिएको चार वर्ष भइसक्दा पनि सेनाले उपकरण फिर्ता ल्याएको छैन ।