काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि धमाधम गणना भइरहेको छ । अहिलेसम्म त्यो क्षेत्रका ५७ हजार ३५० रुखको गणना सकिएको छ । यस्तै सोही क्षेत्रमा नदी नियन्त्रणको काम पनि धमाधम भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकमा विमानस्थलको प्रगति विवरण पेश गरियो । आउँदो मङ्सिर मसान्तभित्र रुख तथा पोलको लगत नम्बरिङकोे कार्य सम्पन्न गर्ने निर्णय भएको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि सहजीकरण समितिको २ माघ २०७६ को निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी बस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्नेछ । साथै, यो समितिका सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय पनि भएको छ ।